वीरगन्जमा हैजाको प्रकोप गहिरिँदै, ७१ जनामा संक्रमण पुष्टि

पर्सा — वीरगन्जमा हैजाको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। हालसम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने एक सयभन्दा बढी बिरामी झाडापखाला र हैजाको शंकामा विभिन्न अस्पतालमा उपचाररत छन्।
वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख राजु साहका अनुसार आइतबार साँझसम्मको विवरणअनुसार सबैभन्दा बढी बिरामी नारायणी अस्पतालमा भर्ना भएका छन्। अन्य निजी तथा सामुदायिक अस्पतालहरूमा पनि हैजाका बिरामी बढिरहेका छन्।
यसैबीच, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले महामारी नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय तहबीच घनिष्ठ समन्वय आवश्यक भएको बताएका छन्। उनले औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै खानेपानीकै कारण प्रकोप फैलिएको हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
संक्रमण फैलिँदै गएपछि वीरगन्ज महानगरपालिकाले दुई दिनका लागि सम्पूर्ण विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले आत्तिनुपर्ने अवस्था नभए पनि सतर्कता अपनाउन आग्रह गर्दै सबै पक्षलाई सहकार्य गर्न आग्रह गरेका छन्।
संघीय स्वास्थ्य मन्त्रालयको टोली, विश्व स्वास्थ्य संगठनका विशेषज्ञसहित, वीरगन्ज पुगेर प्रकोप नियन्त्रणका उपायहरूमा संलग्न भएको छ। गृह मन्त्रालयले समेत आवश्यकता अनुसार सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको छ।
यस्तै, खानेपानी मन्त्रालयको प्राविधिक टोलीले हैजा प्रभावित वडा नं. ११, १२ र १३ मा खानेपानीका नमुना संकलन गरेको छ। परीक्षणका लागि नमुना जनकपुर लैजाने व्यवस्था गरिएको छ।
संकट व्यवस्थापन समितिले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति परिचालन गर्ने, बिदा रोक्ने, सचेतना कार्यक्रम सघन बनाउन तथा औषधि र आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्ने निर्णय पनि गरेको छ।