सर्लाहीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना, दुईको ज्यान गयो

सर्लाही जिल्लामा दुई फरक स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन् भने एक व्यक्ति गम्भीर घाइते भएका छन्।
पहिलो घटना चक्रघट्टा गाउँपालिका–५, पडरियामा राति घटेको हो। बीआर ३० एजी ५०३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा त्यही ठाउँका ६० वर्षीय बरन बैठाको मृत्यु भयो। दुर्घटनामा पैदलयात्री २० वर्षीय दीपक मण्डल गम्भीर घाइते भई प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत छन्। मोटरसाइकल चालक २० वर्षीय हरेकृष्ण यादवलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
अर्को घटना ईश्वरपुर नगरपालिका–१, चौलिखामा भएको हो। एचपी ५५ एसी ६१०५ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक, ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका २४ वर्षीय अमनदीप राम गम्भीर घाइते भए। उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल बारामा पुर्याइए पनि साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।