देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व उत्साहपूर्वक मनाइँदै

रुपन्देही – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व धार्मिक र सांस्कृतिक उत्साहका साथ मनाइँदै छ। वैदिक सनातन परम्परा अनुसार आजको दिनलाई ऋषि तर्पणीको रुपमा पनि चिनिन्छ।
बिहानैदेखि श्रद्धालुहरू नदी, पोखरी, ताल वा तलाउमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र नयाँ यज्ञोपवीत धारण गर्ने चलन छ। धार्मिक विश्वास अनुसार मन्त्रसहित बाँधिएको रक्षासूत्रले नकारात्मक शक्तिबाट सुरक्षा प्रदान गर्छ।
यस दिन ब्राह्मण, क्षत्रिय र वैश्य समुदायका तागाधारीहरूले जनै फेर्ने परम्परा पालन गर्छन्। साथै, एघार थरिका गेडागुडी मिसाई टुसा उमारेको परिकार ‘क्वाँटी’ खाने प्रचलन छ। क्वाँटी खाँदा शरीरलाई तन्दुरुस्त राख्ने, रोग प्रतिरोध क्षमता बढाउने र वर्षायाममा लाग्ने चिसो हटाउने मान्यता रहेको छ।
तराई क्षेत्रमा भने यो दिन दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर मनाउने परम्परा छ, जसले पारिवारिक प्रेम र आपसी सम्बन्ध मजबुत बनाउने विश्वास गरिन्छ। पछिल्ला वर्षमा यो परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।