नेपालमा १५ लाखभन्दा बढी बोरा रासायनिक मल भित्रिँदै

साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त १५ लाखभन्दा बढी बोरा रासायनिक मल नेपाल ल्याउने काम सुरु भएको जनाएको छ।
कर्पोरेशनका अनुसार हालसम्म करिब ४ लाखभन्दा बढी बोरा युरिया र १० लाखभन्दा बढी बोरा डिएपी मल आयात भइसकेको छ। ती मललाई चरणबद्ध रूपमा विभिन्न गोदाममा पुर्याउने प्रक्रिया जारी छ।
मल वितरणमा सहजता ल्याउन कर्पोरेशनले प्रदेश सरकारसँग पत्राचार गरी कोटा निर्धारणको प्रक्रिया अघि बढाइसकेको छ। प्रदेशमार्फत पालिकामा कोटा वितरण भइसकेपछि किसानले सहजै मल पाउने अपेक्षा गरिएको छ।
जारी विज्ञप्तिमा कर्पोरेशनले भनेको छ– “दर्ता भएका सबै डिलरहरूले आफ्नो पालिका र सम्बन्धित कार्यालयसँग समन्वय गरी तोकिएको कोटाअनुसार मल बिक्री–वितरण गर्नुपर्नेछ।”
बजारमा मल अभाव भएको खबर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आएका सन्दर्भमा कर्पोरेशनले पर्याप्त मात्रामा मल आयात भइरहेको र किसानलाई आवश्यक आपूर्ति हुनेमा ढुक्क रहन आग्रह गरेको छ।