भोटेकोशी बाढीले चीनमा अड्किएका २०३ नेपाली स्वदेश फर्काइए

श्रावण ७, २०८२ | काठमाडौं भोटेकोशी नदीमा आएको बाढीका कारण चीनतर्फ फसेका २०३ जना नेपाली नागरिकलाई बुधबार तातोपानी नाका हुँदै स्वदेश फर्काइएको छ। तीमध्ये धेरैजसो रोजगारी र ढुवानीका लागि गएका चालक तथा कामदार थिए।
बाढीले रसुवाको मितेरी पुल बगाएपछि उनीहरू चीनको केरुङमा अलपत्र परेका थिए। चीनको परराष्ट्र मन्त्रालयले नेपाली पक्षसँग समन्वय गर्दै उनीहरूलाई २० वटा गाडीमा तातोपानी ल्याएको हो। नेपाली प्रशासनले त्यहीँबाट जिम्मा लिएर उनीहरूलाई आवश्यक सहयोग तथा काठमाडौं पुग्ने व्यवस्था गरेको छ।
गृह मन्त्रालय र ल्हासास्थित नेपाली वाणिज्य दूतावासको पहलमा उद्धार प्रक्रिया अघि बढाइएको थियो। चिनियाँ सुरक्षाकर्मीहरूको साथमा ल्याइएका नेपाली नागरिकलाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको टोलीले औपचारिक रूपमा जिम्मा लिएको हो।
📌 मुख्य बुँदाहरू: २०७२ सालपछि पहिलोपटक यति ठूलो संख्यामा नेपाली चीनबाट उद्धार
रसुवाको मितेरी पुल बग्दा केरुङतर्फ अड्किएका थिए नेपाली नागरिक
चीनको सहयोगमा तातोपानी नाकाबाट नेपाल ल्याइयो
उद्धारमा स्थानीय पालिका, यातायात व्यवसायी र गृह मन्त्रालयको सक्रिय भूमिका
यसअघि, बाढीका बेला धेरै चालकहरू कन्टेनरको छतमा बसेर ज्यान जोगाउन सफल भएका थिए। उद्धारमा ढिलाइ हुँदा उद्योग वाणिज्य संघ र यातायात कम्पनीहरूले सरकारसँग तत्काल पहल गर्न अनुरोध गरेका थिए।