सुनको मूल्य लगातार उकालो, किन बढ्दैछ दर ?

काठमाडौँ — एक सातादेखि सुनको मूल्य दिनहुँ नयाँ कीर्तिमान कायम गर्दै उकालो लागेको छ। अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर घटाउने संकेत, डलरको सटही दरमा भारतीय रुपैयाँ र नेपाली रुपैयाँको अवमूल्यन, साथै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि प्रमुख कारण रहेको सरोकारवालाको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३,४७४ अमेरिकी डलर थियो। सोही आधारमा नेपाली बजारमा प्रतितोला सुनको मूल्य २ लाख ५ हजार ३ सय रुपैयाँ तोकिएको छ, जुन स्वदेशी बजारमा अहिलेसम्मकै उच्च दर हो।
गहनाविज्ञ राजकुमार बि.के अनुसार, “अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहे पनि डलरको सटही दर बढ्दा नेपाली बजारमा सुन अकासिएको हो।” गत वैशाख ९ मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ३,४८५ अमेरिकी डलर भए पनि त्यतिबेला प्रतितोला मूल्य १ लाख ५७ हजार ९ सय रुपैयाँ मात्र थियो।
महासंघले मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर, डलर विनिमय दर, १० प्रतिशत भन्सार र १ प्रतिशत मुनाफासहित मूल्य तय गर्छ।
पछिल्लो वृद्धि अमेरिकाले विभिन्न देशमा थप भन्सार लगाउने निर्णयसँग पनि जोडिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले विश्व आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा असर पारेकाले सुनलाई सुरक्षित लगानीका रूपमा रोज्ने क्रम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।