चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

६ श्रावण २०८२, मंगलवार काठमाडौं ।
देशभर मनसुनी वायु सक्रिय रहेकाले मौसममा व्यापक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पश्चिम क्षेत्रमा सरदर स्थानमा र पूर्वमा सामान्यभन्दा दक्षिणतिर छ, जसको कारण विशेषगरी पहाडी भू–भागहरूमा बदली र वर्षा देखिएको छ।
हाल मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भागमा आंशिकदेखि सामान्य बदली भएको जनाइएको छ।
आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै, हिमाली तथा उच्च पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि देखिएको छ।
मौसम विभागले संभावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ।