त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय ‘भिजिटर पास’ सेवा स्थगित, भीड नियन्त्रणका लागि कदम
काठमाडौँ — यात्रु चाप व्यवस्थापन र सुरक्षामा सहजता ल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंगलबारदेखि अन्तर्राष्ट्रिय टर्मिनलमा दिइँदै आएको ‘भिजिटर पास’ सेवा अनिश्चितकालका लागि रोक्ने निर्णय गरेको छ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, यात्रुलाई विमानस्थलभित्र पुर्याउन आउने आफन्तहरूको अत्यधिक भीडका कारण चेकइनदेखि बोर्डिङ प्रक्रियासम्म ढिलाइ हुने, कतिपय अवस्थामा सुरक्षामा चुनौती बढ्ने समस्या देखिएको हो। उनका भनाइमा, "भिजिटरको संख्या नियन्त्रणमा राख्न नसक्दा दैनिक सञ्चालनमै असर परेकोले यो कदम चाल्नुपर्यो।"
अन्तर्राष्ट्रिय टर्मिनलमार्फत दैनिक करिब ६ हजार यात्रुहरू आवतजावत गर्छन् भने तिनीहरूलाई पुर्याउन आउने भिजिटरको संख्या १,२०० सम्म पुग्ने गरेको तथ्यांक छ। कतिपय अवस्थामा भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी बोलाउनुपर्ने अवस्था समेत आएको अधिकारीहरूले जनाएका छन्।
यद्यपि, आन्तरिक टर्मिनलमा भिजिटर पास सेवा यथावत रहनेछ। वृद्ध, बालबालिका, अशक्त वा बिरामी यात्रुका लागि आफन्तसँग प्रवेशको अनुमति दिने व्यवस्था भने जारी रहने विमानस्थलले जनाएको छ।