मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल नक्कली छाप प्रकरणमा पक्राउ

श्रावण १०, २०८२
बुटवल — मालपोत कार्यालय बुटवलमा कार्यरत अधिकृत घनश्याम अर्याल नक्कली छापको प्रयोग गरी लालपुर्जा वितरण गरेको अभियोगमा प्रहरीको नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार, कार्यालयको सरकारी छाप नक्कल गरी लालपुर्जा बनाएको आरोपमा उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो। यस प्रकरणको अनुसन्धान करिब चार वर्षदेखि चलिरहेको जनाइएको छ।
प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार प्रारम्भिक बयानका क्रममा अर्यालले गल्ती स्वीकार गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
यसै मुद्दामा कार्यालय सहयोगी सञ्जय कुमार केवटसमेत पक्राउ परेका छन्। प्रहरीले नक्कली लालपुर्जा बनाउने कार्यमा संलग्न अन्य १० जनाको खोजी कार्य तीव्र पारेको छ। अर्याल विगत लामो समयदेखि बुटवल मालपोत कार्यालयमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ।