नेपाल एयरलाइन्सले साउदी अरबबाट नियमित उडान सुरु गर्ने, हप्तामा तीन फ्लाइट

दमाम – नेपाल एयरलाइन्सले साउदी अरबको दमाम सहरबाट काठमाडौँ र काठमाडौँबाट दमामसम्म नियमित रूपमा हप्तामा तीन उडान सञ्चालन गर्ने भएको छ। आइतबार, मंगलबार र बिहीबारका दिन सञ्चालन हुने यो सेवा भोलिदेखि (साउन १८) लागू हुने जानकारी दिइएको छ।
नेपाल एयरलाइन्सका साउदी कन्ट्री म्यानेजर अन्जु शर्मा मरासिनीका अनुसार साउदीमा नेपाली यात्रुहरूको चाप बढ्दै गएको कारण हप्तामा तीनपटक उडानको व्यवस्था गरिएको हो। उनका अनुसार यात्रुहरूलाई ४० केजी चेक-इन लगेज, ७ केजी ह्यान्ड क्यारी, फ्लाइटमा भोजन, टिकट मिति परिवर्तन, रिफन्ड, सिट चयन तथा थप लगेज खरिद जस्ता सुविधा प्रदान गरिनेछ।
हाल एकतर्फी भाडादर दमाम–काठमाडौंका लागि १६,७०० रुपैयाँ र काठमाडौं–दमामका लागि ३२,८०० रुपैयाँ सम्म हुने जानकारी दिइएको छ।
नेपाल एयरलाइन्सले साउदीको रियाद सहरबाट पनि पुनः उडान सुरु गर्नको लागि छलफलको अन्तिम चरणमा पुगेको जनाइएको छ। साउदीस्थित नेपाली राजदूत डा. नरेश विक्रम ढकालले साउदीमा करिब ४ लाख नेपाली रहेका कारण हप्तामा ३ उडान सुरु हुनु सकारात्मक पहल भएको बताए। उनले अन्य सहरहरूबाट पनि उडानका लागि दूतावासले आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिए।
यसअघि रियाद-काठमाडौँ उडान विभिन्न कारणले स्थगित गरिएको थियो भने कार्गो सम्झौता नहुँदा साउदीमा मृत्यु भएका नेपालीहरूको शव ल्याउन समेत समस्या देखिएको थियो। हाल उक्त समस्याको समाधानका लागि सम्बन्धित निकायहरूसँग छलफल भइरहेको एयरलाइन्सले जनाएको छ।
नेपाल एयरलाइन्सको यो पहलले साउदीस्थित नेपाली समुदायलाई स्वदेश आउजाउमा थप सहजता मिल्ने विश्वास गरिएको छ।