‘होस्टेज स्क्वायर’ मा विपिनकी बहिनीको भावुक सम्बोधन

काठमाडौँ — इजरायलमा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायली उच्च अधिकारीहरूसँग भेटवार्ता जारी राखेका छन्। सोमबार उनीहरूले राष्ट्रपति इसाक हेर्जोगसँग भेट गरी दाजु विपिनलाई सकुशल फर्काउन पहल गरिदिन आग्रह गरेका हुन्।
राष्ट्रपति हेर्जोगले विपिनको आमा र बहिनीलाई तेल अविवस्थित निवासमा बोलाई भेट्दा, उनले विपिन निर्दोष विद्यार्थी भएको र उनको मुक्तिको लागि इजरायली सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले अन्तर्राष्ट्रिय समुदायलाई समेत अपिल गर्दै विपिनलगायत सबै बन्धकलाई शीघ्र घर फर्काउन सहयोग गर्ने वचन दिए।
पुष्पाले भेटमा आफ्नो पीडा व्यक्त गर्दै भनिन्, “दुई वर्षभन्दा लामो समयसम्म दाजुलाई देख्न वा कुरा गर्न नपाउँदा हाम्रो परिवार चिरा परेको छ। कृपया विश्व समुदाय विपिनलाई घर फर्काउन सक्दो पहल गरोस्।” त्यतिबेला उनी अत्यन्त भावुक बनेकी थिइन् र आँसु रोक्न नसकेकी थिइन्।
यसअघि आमा पद्मा जोशीले पनि रुँदै आफ्ना कुरा राख्दै भनिन्, “मेरो छोराको अवस्था थाहा छैन, आवाज सुन्न पाएको छैन। यस पीडाको क्षणमा हामीलाई यहाँसम्म ल्याएकोमा इजरायली सरकारलाई धन्यवाद।”
‘होस्टेज स्क्वायर’ मा आयोजित विशाल सभामा हजारौं मानिसका सामु पहिलो पटक सम्बोधन गर्न पुगेकी पुष्पाले दाजुप्रतिको माया र पीडा साझा गरिन्। उनले भनिन्, “६८० दिनभन्दा बढी समयदेखि मेरो दाजु अँध्यारो कोठरीमा छन् भन्ने सोच्दा सहनै सक्दिन। म उनको आवाज, उनको अँगालो, सबै कुरा भयंकर रूपमा मिस गर्छु।”
विपिनको परिवारले राष्ट्रपति हेर्जोगसँग मात्र नभई इजरायली संसद्का अध्यक्ष आमिर ओहाना, विदेशमन्त्री गिडेअन साअरसहित अन्य अधिकारीहरूसँग पनि भेट गरी सक्दो चाँडो विपिनको रिहाइका लागि आग्रह गरेका छन्।
इजरायली सरकारले गाजा क्षेत्रमा सैन्य कारबाही अघि बढाउँदै अन्तर्राष्ट्रिय समुदायलाई समेत दबाब बढाउन आग्रह गरेको छ। इजरायलको आन्तरिक राजनीतिसम्मै चर्किएको यो मुद्दाले लाखौं नागरिकलाई सडकमा उतारेको छ। प्रदर्शनकारीहरूको एउटै माग छ—“सबै बन्धकलाई घर फर्काउन व्यापक सम्झौता हुनुपर्छ।”
विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका थिए। त्यसबेला १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनसहित धेरैजना घाइते बनेका थिए। विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिशिक्षाका लागि इजरायल गएका थिए।