सिन्धुली कारागारबाट फरार २९४ कैदी फर्किए, थप १७७ जनालाई चेतावनी

सिन्धुली — 'जेन-जी' आन्दोलनका क्रममा फरार भएका सिन्धुली कारागारका २९४ जना कैदीहरू जेल फर्किएका छन्। प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार फर्कनेहरूमा ३७ जना महिला र २५७ जना पुरुष कैदी रहेका छन्।
गत भाद्र २५ गते कारागारबाट कुल ४७१ जना कैदीहरू फरार भएका थिए। फर्किएका कैदीहरूमा केही आफैं आएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर फिर्ता गराएको छ। सिन्धुली प्रहरीले अन्य कारागारबाट फरार भएका १९ जना कैदीहरू समेत नियन्त्रणमा लिएको छ।
कारागार प्रशासनले अझै १७७ जना फरार कैदीहरूलाई असोज २० गतेभित्र जेल फर्कन चेतावनी जारी गरेको छ। निमित्त कारागार प्रशासक मात्रिका प्रसाद पहाडीले उक्त मितिसम्म नफर्किएका कैदीहरू विरुद्ध कारागार ऐन २०७९ अनुसार कारबाही गरिने बताएका छन्।
साथै, फरार कैदीहरूलाई लुकाउने वा आश्रय दिने व्यक्तिहरू विरुद्ध पनि कानुनी कारबाही हुने चेतावनी दिइएको छ। कारागार प्रशासनले स्थिति नियन्त्रणमा लिँदै गरेको र बाँकी रहेका कैदीहरू पनि चाँडै नियन्त्रणमा लिइने बताएको छ।