१६ सदस्यीय परिवार बेपत्ता, अन्तिम मोबाइल लोकेशन रामेछापमा देखियो

सिन्धुली / रामेछाप - सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना सदस्यहरू बेपत्ता भएका छन्। सोमबार बिहानदेखि सम्पर्कविहीन बनेका उनीहरूलाई खोज्न प्रहरी र स्थानीय प्रशासन सक्रिय छन्।
गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाका अनुसार बेपत्ता हुनेहरूमा उर्मिला हायु, उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ ज्वाइँ रहेका छन्। उनले भने, "घटनास्थलमा कुनै अप्राकृतिक अवस्था देखिएको छैन, यस्तो देखिन्छ कि उनीहरू आफैं कतै गएका हुन्। तर कहाँ, किन र कसरी भन्ने अझै खुलेको छैन।"
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोबाइल ट्र्याकिङ गर्दा परिवारको एक सदस्यको मोबाइल अन्तिम पटक रामेछापमा सक्रिय देखिएको छ। प्रवक्ता थापाले भने, "फोन रामेछापमा चलिरहेको देखिएको छ तर सम्पर्क हुन सकेको छैन। टावर लोकेशन रामेछापमा देखिएको छ।"
हाल प्रहरी, गाउँपालिका र सम्बन्धित निकाय हराइरहेका व्यक्तिहरूको खोजीमा जुटेका छन्। उनीहरूको नाता सम्बन्ध भएका सबै ठाउँमा खोजतलास जारी छ।
