Bhairahawa Online Logo
Social

बाजुरामा जिप दुर्घटना: तीनको मृत्यु, १६ घाइते

Share:
Bhairahawa Online
बाजुरामा जिप दुर्घटना: तीनको मृत्यु, १६ घाइते

बिहीबार, साउन ८, २०८२

बाजुरा — बाजुराको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरतर्फ जाँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

ना.प्र. ०३००१ ज ०३३८ नम्बरको उक्त जिप सडकबाट अनियन्त्रित भई खस्दा करिब ६० वर्षीया बाचा रोकाया, ६५ वर्षीया विजौरा रोकाया र ३५ वर्षीया जुनेली रोकायाको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा घाइते भएका १६ मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको छ भने अन्यको उपचार कोल्टी अस्पतालमा भइरहेको छ।

जिपमा १९ जना सवार थिए। उनीहरू सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडातर्फ जाँदै थिए। २२ वर्षीय चालक गौरी बुढाले जिप चलाइरहेका थिए। कच्ची र साँघुरो सडक, अधिक भार र अव्यवस्थित सवारी व्यवस्थापनका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रहरी र स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको छ। बाजुराका पहाडी सडकमा दुर्घटनाको जोखिम उच्च रहने गरेको सरोकारवालाहरू बताउँछन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News