नेपालीलाई भारत लैजाने मिर्गौला तस्कर गिरोहका ३ जना पक्राउ

काठमाडौं सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेललाई मिर्गौला निकालेर ठग्ने मानव बेचबिखन गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेका राजकुमार परियार, नुवाकोटका समिर नेपाली र राकेश नेपालीलाई संगठित अपराधमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ। भुजेललाई होटलमा कामको प्रलोभन देखाएर चण्डीगढ पुर्याई ६ लाख दिने भन्दै मिर्गौला निकालिएको थियो। साउन ९ मा उनको मिर्गौला झिकेपछि पैसा नदिई नेपाल फर्काइयो। प्रहरीका अनुसार, गिरोहले कोटेश्वरबाट कलंकी हुँदै सुनौली नाका पार गरी भुजेलसहित ५ जनाको मिर्गौला निकालेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले गिरोहले कमजोर आर्थिक अवस्थाका व्यक्तिलाई प्रलोभनमा पारेर भारतमा मिर्गौला निकाल्ने गरेको बताए। पछिल्लो ४ वर्षमा यस्ता १,०४५ मुद्दा दर्ता भएका छन्, जसमध्ये ३३४ ब्युरोमा छन्। अन्य फरार अभियुक्तको खोजी र पीडितको पहिचान कार्य जारी छ