Bhairahawa Online Logo
News

जंगली च्याउ खाँदा बालकको मृत्यु, अन्य ३ जनाको अवस्था गम्भीर

Share:
Bhairahawa Online
जंगली च्याउ खाँदा बालकको मृत्यु, अन्य ३ जनाको अवस्था गम्भीर

२०८२ साउन ६, मंगलबार

रुकुम पूर्व — रुकुम पूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्। तीमध्ये ३ वर्षीय बालकको निधन भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

साउन २ गते अन्दाजी ३५ वर्षीया रामकुमारी सुनार र उनका छोराछोरीहरूले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाएका थिए। च्याउ खाएपछि उनीहरूमा पेट दुख्ने, बान्ता आउने, टाउको दुख्ने जस्ता लक्षण देखा परेपछि स्वास्थ्य समस्या झन् गम्भीर बन्दै गएको थियो।

स्वास्थ्यमा सुधार नदेखिएपछि बिरामीलाई साउन ५ गते रुकुम–पूर्व अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि अवस्था गम्भीर भएपछि साउन ६ मा रामकुमारी सुनार, उनकी छोरी भाग्य रेखा विक (६) र छोरा योजन विक (३) लाई सल्यान अस्पताल लगिएको थियो।

तर उपचारकै क्रममा योजन विकको मंगलबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए। बाँकी दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दाङ रिफर गरिएको छ।

त्यसैगरी, रामकुमारीकी ९ वर्षीया छोरी आयुषा विकलाई परिवारले जिल्ला अस्पताल रुकुम (पूर्व)बाट रुकुम (पश्चिम) सल्ले लगेको र उनको अवस्था भने मध्यम रहेको बताइएको छ।

सावधानी अपनाऔं – जंगली च्याउ विषालु हुन सक्छ। स्वास्थ्यमा जोखिम नहोस् भनेर वनबाट ल्याइएका चिजहरू प्रयोग गर्नु पूर्व परीक्षण गरौं।

जंगली च्याउ खाँदा बालकको मृत्यु, अन्य ३ जनाको अवस्था गम्भीर

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News