नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः आवागमन सुरु

चितवन — गत शुक्रबार तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। शुक्रबार साँझ ६ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो भने लामो समयको प्रयासपछि आज साँझ करिब ५:३० बजेदेखि दुबै तर्फको सवारीसाधन आवागमन सहज भएको हो।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो केही समय एकतर्फी सञ्चालनमा आएको सडक राति बन्द गरिएको थियो। आज बिहानदेखि पुनः एकतर्फी यातायात सञ्चालन गरिएको र दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी पहिरो पन्छाउने काम सम्पन्न गरिएको उनले जानकारी दिए।
यद्यपि, अझै पनि उक्त क्षेत्रमा पहिरो खस्ने जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सवारी चालक तथा यात्रुहरूलाई बढी सतर्क रहन आग्रह गरेको छ।