एमालेको सचिवालय बैठक आज पनि जारी

भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज पनि जारी रहने भएको छ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजेदेखि बैठक सुरु हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो। उपमहासचिव ज्ञवालीका अनुसार हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको समाधान गर्ने र नयाँ ढङ्गले अगाडि बढ्ने निष्कर्ष निकालेको थियो।
बैठकमा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको पनि ज्ञवालीले बताए। सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानु पर्ने र सिङ्गो देशलाई एकताको वातावरणमा लैजानुपर्ने निष्कर्ष हिजोको बैठकले निकालेको उनको भनाइ थियो।
आजको बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।