Bhairahawa Online Logo
Social

नवलपरासीमा आगजनी र तोडफोड अभियोगमा पक्राउ परेकाहरू धरौटीमा रिहा

Share:
Bhairahawa Online
नवलपरासीमा आगजनी र तोडफोड अभियोगमा पक्राउ परेकाहरू धरौटीमा रिहा

परासी । नवलपरासीमा हालै भएको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका १४ जना शुक्रबार धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठका अनुसार उनीहरूमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। तर जिल्ला अदालतको आदेशअनुसार जनही ६० हजार रुपैयाँ धरौटी र हाजिर जमानीको सर्तमा उनीहरूलाई छोडिएको हो।

पक्राउ परेकामध्ये बर्दघाटका एक चिकित्सकसहित ११ जना र सुनवलका ३ जनामाथि भिडियो फुटेजसहितका प्रमाणका आधारमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

जिल्लामा सर्वाधिक क्षति क्षेत्र नं. १ का जनप्रतिनिधि तथा नेताहरूको निजी सम्पत्तिमा भएको बताइएको छ। आगजनी र तोडफोडमा संलग्न भएकामाथि मुद्दा अझै कायम रहेको र आवश्यक परे अदालतमा उपस्थित हुनुपर्ने एसपी श्रेष्ठले स्पष्ट पारे।

यसबीच, स्थानीय सुरक्षा अधिकारीहरूले पक्राउ परेकाहरूलाई राजनीतिक दबाबका कारण छोडिएको भन्ने दाबी अस्वीकार गरेका छन्। प्रहरीका अनुसार कानूनी प्रावधानअनुसार धरौटी र हाजिर जमानीमा मात्र रिहा गरिएको हो।

मुलुकी अपराध संहिता २०७४ अनुसार, आगजनी वा विस्फोट पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेमा दुईदेखि पाँच वर्षसम्म कैद सजाय र २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। पक्राउ परेकामाथि सोही ऐनअन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News