युएईबाट रेड नोटिसमा रहेकी नेपाली महिला पक्राउ

काठमाडौं। ठगी प्रकरणमा संलग्न भई फरार रहेकी एक महिलालाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेकी महिला धनुषा, जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने तथा सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल हुन्।
प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता विनोद घिमिरेका अनुसार उनीविरुद्ध इन्टरपोलले गत चैत २१ गते रेड नोटिस जारी गरेको थियो। ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेकी दाहाललाई राष्ट्रिय प्रहरी अनुसन्धान शाखाको अनुरोधमा अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरिएको हो।
दाहाललाई युएईमा नियन्त्रणमा लिएर बिहीबार नेपाल ल्याइएको छ। उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।