आज पनि वर्षा हुने सम्भावना, यी प्रदेशका पहाडमा बढी जोखिम

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो र राति देशका विभिन्न भागमा वर्षा हुने अनुमान गरेको छ।
आज दिउँसो देशका पहाडी क्षेत्र धेरैजसो स्थानमा बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा समेत मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोसी र बागमतीका केही ठाउँमा भने भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ।
राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोसी, बागमती, गण्डकीसहितका पहाडमा केही स्थानमा वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ।
महाशाखाका अनुसार, २४ घण्टाभित्र १० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी र १०० मिलिमिटरभन्दा बढी पानी परे धेरै भारी वर्षा मानिन्छ।
विज्ञहरूले वर्षा सम्भावित क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिएका छन्। विशेषगरी पहाडी भूभागमा भूस्खलन, बाढी र यातायात अवरुद्ध हुने जोखिम हुने भएकाले सावधानी आवश्यक रहेको उनीहरूको भनाइ छ।