नेपाललाई ५ वर्षमा २.७ अर्ब डलर सहयोग गर्ने विश्व बैंक

भैरहवा – विश्व बैंक समूहले आगामी पाँच वर्षमा नेपालका लागि करिब २.७ अर्ब अमेरिकी डलर बराबरको लगानी उपलब्ध गराउने घोषणा गरेको छ। सन् २०२५ देखि २०३१ सम्म लागू हुने देश साझेदारी ढाँचाअन्तर्गत रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, डिजिटल विकास र व्यावसायिक वातावरण सुधारमा उक्त लगानी केन्द्रित हुने भएको हो।
दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले नेपाल भ्रमणका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, सहरी विकासमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च पदाधिकारीहरूसँग भेटवार्ता गरेका थिए। छलफलमा रोजगारी सिर्जना र विपद् उत्थानशीलता नेपालको प्रमुख चुनौती भएकाले त्यसमा सहयोग केन्द्रित गर्ने उल्लेख गरिएको छ।
जुटका अनुसार हरेक वर्ष करिब पाँच लाख नेपाली युवा श्रम बजारमा प्रवेश गर्ने भएकाले उनीहरूलाई अवसर उपलब्ध गराउन दिगो लगानी र संरचनात्मक सुधार अपरिहार्य छ। उनले सरकारले अघि बढाएको १६ औं योजनासँग विश्व बैंकको यो सहयोग मेल खाने बताएका छन्।