सुदन गुरुङले ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी दिए

काठमाडौं — जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पेश भएका छन्। सोमबार बेलुकी उनी काठमाडौंको जिल्ला प्रहरी परिसरमा जाहेरी दिन पुगेका थिए।
तर प्रहरी प्रशासनले जाहेरी रितपूर्वक नभएको भन्दै यसलाई दर्ता गर्न अस्वीकार गरेको छ। प्रहरीका एक अधिकृतको भनाइमा गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले काम गरिरहेको बेला तत्काल जाहेरी दर्ता गर्नु उचित नहुने बताइएको छ।
यसबीच सुदन गुरुङले सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै अभियान चलाइरहेका छन्। भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा ७५ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।
सरकारले गठन गरेको छानबिन आयोगले घटनामा संलग्न तत्कालीन अधिकारीहरूको राहदानी रोक्का गरिसकेको छ। आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक लगायतका व्यक्तिहरूको उडान रोक्न गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।