Bhairahawa Online Logo
Social

आन्दोलनका बीच भागेका आठ हजारभन्दा बढी कैदी अझै फरार

Share:
Bhairahawa Online
आन्दोलनका बीच भागेका आठ हजारभन्दा बढी कैदी अझै फरार

काठमाडौं – ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका कारागार र सुधारगृह तोडफोड गरेर भागेका कैदीबन्दीमध्ये आठ हजारभन्दा बढी अझै फरार रहेका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी स्वेच्छाले फर्किएका वा प्रहरीद्वारा पक्राउ परेका छन्। पछिल्लो एक दिनमै मात्रै १४९ जना पक्राउ वा स्वेच्छाले फर्किएका विभागले जनाएको छ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा देशभरका २८ कारागार र नौ बालसुधार गृहबाट १४ हजार ५५५ जना कैदीबन्दी भागेका थिए। तीमध्ये १३ हजार ५९१ जना कारागार र ९६४ जना सुधारगृहका थिए।

अहिलेसम्म फर्किएकामध्ये कारागारबाट ५ हजार ९८७ र सुधारगृहबाट ३४१ जना छन्। बाँकी ८ हजार २२६ जनाको खोजी भइरहेको छ।

नेपाल प्रहरीले हिरासतमा रहेका करिब दुई हजार जना अभियुक्तसमेत आन्दोलनको अव्यवस्थाबीच भागेको र उनीहरूको समेत खोजी भइरहेको जनाएको छ।

आन्दोलनअघि देशभर ३० हजार ६३४ कैदीबन्दी रहेका मध्ये अहिले २१ हजार ९९९ मात्र कारागार तथा सुधारगृहमा रहेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News