राष्ट्रपतिको आह्वान : संविधान र देशरक्षाका लागि निर्वाचन अनिवार्य, सरकारले दिनुपर्छ सुरक्षाको ग्यारेन्टी

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देश, लोकतन्त्र र संविधानको सुरक्षाका लागि निर्वाचन नै एकमात्र सही बाटो भएको जोड दिँदै सबै राजनीतिक दलहरूलाई आगामी चुनावमा सहभागी हुन आह्वान गरेका छन्। उनले सरकारलाई निष्पक्ष र निर्भय वातावरणमा मतदान सम्पन्न गराउने सुरक्षाको पूर्ण प्रत्याभूति दिन पनि आग्रह गरे।
शीतलनिवासमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, "देश र संविधानको रक्षा गर्ने मुख्य आधार नै लोकतान्त्रिक प्रक्रियाबाट भएको निर्वाचन हो। यसबाट टाढा रहने कुनै पनि विकल्पले राष्ट्रलाई अस्थिरतातर्फ लग्न सक्छ।" उनले दलहरूले आपसमा कुनै द्वन्द्व र अस्पष्टता छ भने बैठकमै राख्न अनुरोध गरे।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए अनुसार, राष्ट्रपतिले सरकारलाई नागरिकहरूमाझ निर्वाचनको सुरक्षा विषयमा पूर्ण विश्वास जगाउन सुझाव दिएका छन्। उनले शान्तिपूर्ण र भयमुक्त वातावरणको सृजना गरी मतदाताले स्वतन्त्र रूपमा आफ्नो मत खसाल्न सकुन् भन्ने आवश्यकतामा जोड दिएका छन्।
बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा आफूहरूको अटूट विश्वास रहेको घोषणा गरे। तर उनीहरूले हालको सुरक्षा परिस्थितिले स्वच्छ्न र निष्पक्ष चुनाव सम्पन्न हुनेबारे गम्भीर शंका रहेको पनि उल्लेख गरे। दलहरूले सरकारले यो संशय हटाउने र चुनावी वातावरणलाई पारदर्शी बनाउनुपर्ने माग गरे।
यस सर्वदलीय बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको साथै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूका वरिष्ठ नेताहरूले सहभागिता जनाएका थिए।