Bhairahawa Online Logo
World

हमासले सार्वजनिक गरेको ४८ बन्धकको पोस्टरमा नेपाली विपिनको पनि तस्बिर

Share:
Bhairahawa Online
हमासले सार्वजनिक गरेको ४८ बन्धकको पोस्टरमा नेपाली विपिनको पनि तस्बिर
तस्बिरः अल जजिरा।

गाजा स्थित हमासको सैन्य शाखा कासम ब्रिगेडले शनिबार टेलिग्राममार्फत ४८ जना बन्धकको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त पोस्टरलाई ‘बिदाइ तस्बिर’ भनेर उल्लेख गरेका छन्।

कतारी टेलिभिजन अलजजिराका अनुसार पोस्टरमा जीवित तथा मृत्यु भइसकेकाहरू दुवैको तस्बिर समावेश गरिएको छ। तीमध्ये नेपालका विपिन जोशीको फोटो पनि रहेको बताइएको छ। तर, उनीहरूको वास्तविक अवस्था खुलाइएको छैन।

हालै इसराइलले गाजामा हवाई तथा स्थलमार्फत आक्रमण तीव्र पारेपछि हमासले बाँकी बन्धकहरूको जीवन सुरक्षित राख्न नसक्ने चेतावनी दिएको थियो। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा गाजालाई “हमासमुक्त” बनाइन्जेल आक्रमण जारी राख्ने बताएका छन्।

इसराइली पक्षले अझै कम्तिमा २० जना बन्धक जीवित रहेको दाबी गरेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले सो संख्याभन्दा अझ कम हुन सक्ने बताएका छन्। तर, हमासले सार्वजनिक गरेको पोस्टरमा कसको मृत्यु भएको वा जीवित रहेको बारेमा प्रष्ट खुलाइएको छैन।

सबै तस्बिरहरूमा “Ron Arad” नाम उल्लेख गरिएको छ। अराद इसराइली वायुसेनाका क्याप्टेन थिए, जो सन् १९८६ मा लेबननमा हराएका थिए। अलजजिराका अनुसार, यो नाम प्रयोग गरी पोस्टर प्रकाशित गर्नु हमासको सांकेतिक चेतावनी हुनसक्छ।

हमासको कदमपछि इसराइलका विभिन्न सहरहरूमा हजारौं नागरिक सडकमा उत्रिएका छन्। तेल अविभको होस्टेज स्क्वायर र जेरूसलेमस्थित प्रधानमन्त्री निवास नजिकको पेरिस स्क्वायरमा ठूलो संख्यामा प्रदर्शन भएको इसराइली सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रदर्शनकारीहरूले आक्रमण रोक्न र वार्तामार्फत बन्धकको सुरक्षाको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूको भनाइमा निरन्तर बमबारीका कारण बाँकी बन्धकहरूको जीवन जोखिममा पर्न सक्ने देखिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News