अष्ट्रेलियन ब्याटर क्रिस लिन सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

काठमाडौं – अष्ट्रेलियन क्रिकेटर क्रिस लिन नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको तर्फबाट खेल्ने भएका छन्।
सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमार्फत यसबारे संकेत दिएको थियो। सुरुमा पजलसहितको पोस्टमार्फत खेलाडीको नाम लुकाइएको भए पनि क्लबका अधिकारीहरूले लिन नै टोलीमा भित्र्याइएको पुष्टि गरेका छन्।
३५ वर्षीय लिन आक्रामक ब्याटिङका लागि चर्चित छन्। उनले अष्ट्रेलियाबाट १८ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन्। बिग बास लिगमा उनले १२६ खेल खेल्दै ३,९५५ रन बनाएका छन् र २२० छक्का प्रहार गरेका छन्।
लिनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि लामो अनुभव बटुलेका छन्। उनले २०१४ देखि २०१९ सम्म कोलकाता नाइट राइडर्सबाट खेल्दा उत्कृष्ट प्रदर्शन गरेका थिए भने सन् २०२१ मा मुम्बई इन्डियन्सको तर्फबाट मैदान उत्रिएका थिए।