असोजमा वाणिज्य बैंकको ब्याजदर फेरि घट्यो

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनामा बैंकहरूले निक्षेप खातामा दिने ब्याजदर झन् कम गरेका छन्। कर्जा माग कमजोर हुँदै गएको र बैंकिङ प्रणालीमा निक्षेप मात्र बढ्दै गएको कारणले ब्याजदर निरन्तर तल झरिरहेको हो।
नेपाल बैंकर्स संघका अनुसार, असोजदेखि साधारण बचत खातामा न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३.८१ प्रतिशत ब्याजदर कायम गरिएको छ। व्यक्तिगत मुद्दती निक्षेपतर्फ ब्याजदर ३.३९ प्रतिशतदेखि ५.४६ प्रतिशतबीच रहने देखिन्छ।
अघिल्लो महिना भदौमा साधारण बचतको ब्याजदर २.७६ देखि ३.८४ प्रतिशत र मुद्दती निक्षेपको ३.४९ देखि ५.५९ प्रतिशत थियो। त्यसको तुलनामा असोजमा सानो मात्रामा ब्याजदर घटाइएको हो।
बैंकर्स संघका तथ्यांकअनुसार अधिकांश वाणिज्य बैंकहरूले बचत र मुद्दती निक्षेप दुवैमा ब्याजदर घटाएका छन्। केही बैंकले भने अघिल्लो महिनाको दरलाई स्थिर राखेका छन्, जबकि स्ट्यान्डर्ड चार्टर्ड बैंकले उल्टै ब्याजदर केही बढाएर ५.१८ प्रतिशत पुर्याएको छ।
यसैबीच, हिमालयन, ग्लोबल आइएमई, एनआईसी एशिया, एनएमबी र माछापुच्छ्रे बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याज दिने घोषणा गरेका छन्। सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले क्रमशः ५.२५, ५.५ र ५.०५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ बाट घटाएर ६.० प्रतिशत र तल्लो सीमा ३.० बाट घटाएर २.७५ प्रतिशत पुर्याएपछि ब्याजदर झन् तल झर्ने अनुमान गरिएको थियो। बैंकर्स संघका सीईओ अनिल शर्माले बजारमा तरलता प्रशस्त भएकाले आगामी महिनाहरूमा पनि निक्षेपको ब्याजदर घट्ने सम्भावना रहेको बताए।