ओलीको चेतावनी : राजनीतिक प्रणालीप्रति घृणा फैलाउने प्रयास अस्वीकार्य

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीति र लोकतान्त्रिक अभ्यासप्रति अविश्वास र घृणा फैलाउने प्रवृत्तिप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्। उनले जनपक्षीय आन्दोलनलाई उपयोग गरी मुलुकलाई दलविहीन र दिशाहीन अवस्थामा पुर्याउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध खबरदारी गर्न आग्रह गरे।
भक्तपुरस्थित निवासमा पत्रकारहरूसँगको भेटमा ओलीले भने, “प्रतिस्पर्धा र मतदानमार्फत प्रतिनिधि छान्ने प्रणालीलाई अस्वीकार गर्ने प्रवृत्ति खतरनाक छ। यस्तो दिशाहीन बाटो देशका लागि घातक हुन्छ।”
उनले राजनीतिक दलका झण्डा देशको रक्षा र पहिचानको प्रतीक भएको उल्लेख गर्दै दलविहीनताको नाममा गरिने प्रचारप्रति प्रश्न उठाए। ओलीका अनुसार विवेकहीनता र असन्तुलित सोचले मात्र अराजकतामा उत्प्रेरित गर्ने खतरा हुन्छ।
जेनजी पुस्ताका मागहरू भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शितासँग सम्बन्धित सही मुद्दा भएको तर राष्ट्रिय धरोहर नष्ट गर्ने, संरचनामा आगजनी गर्ने वा जनप्रतिनिधिलाई लक्षित अमानवीय व्यवहार त्यस पुस्ताको वास्तविक स्वरूप नभएको उनले बताए। “देशप्रति माया गर्ने पुस्ता अराजक गतिविधिमा संलग्न हुँदैन,” ओलीको भनाइ थियो।
ओलीले प्रतिशोध र कट्टरताका नाममा सामाजिक सद्भाव नष्ट गर्ने अभिव्यक्ति तथा गतिविधि खतरनाक भएको उल्लेख गरे। उनका अनुसार, समाजमा त्रास सिर्जना गर्ने प्रवृत्तिलाई तत्काल रोक्नुपर्छ र कानूनी दायरामा ल्याउन आवश्यक छ।
“देशले ठूलो क्षति व्यहोर्नु परेको छ, जसले विकासको यात्रालाई दशकौं पछाडि धकेलेको छ। अब सुधार गर्दै अगाडि बढ्नुको विकल्प छैन,” उनले जोड दिए।
ओलीले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता जोगाउन दलहरू जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए। पार्टीभित्रका असहमति आन्तरिक संरचनामार्फत समाधान गर्न सकिने भन्दै उनले सडक प्रदर्शन र उत्तेजनात्मक अभिव्यक्तिले समस्याको समाधान नगर्ने बताए।
पत्रकारहरूसँग कुरा गर्दै उनले सत्य समाचार र विचार लेख्दा कसैको दबाब वा धम्कीमा नपर्न आग्रह गरे। “प्रेस तथा वाक स्वतन्त्रता संघर्षबाट प्राप्त गरिएको हो। त्यसको उपयोग निर्भिक भएर गर्नुपर्छ,” उनले भने।