निर्वाचन आयोगको आग्रह : नयाँ दल छिटो दर्ता गर्न तयारी गर्नुस्

काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएपछि निर्वाचन आयोगले नयाँ राजनीतिक दलहरूलाई छिटोभन्दा छिटो दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
आयोगका अनुसार नयाँ दल दर्ताका लागि कानुनी बाधा नभए पनि समय सीमित भएकाले आवश्यक कागजात तयार पारेर शीघ्र निवेदन दिनुपर्नेछ। अहिले आयोगमा १ सय २२ दल दर्ता छन्।
आयोगले निर्वाचनको तालिका सार्वजनिक भएपछि कुन दल–दल निर्वाचनमा सहभागी हुने हो भन्नेबारे सूचना निकाल्नेछ। सूचीबद्ध दलहरूले सोही सूचनाअनुसार पुनः दर्ता गराउनुपर्ने व्यवस्था छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधानले तोकेअनुसार दल दर्ताको प्रक्रिया खुला गरिएको जानकारी दिए। उनका अनुसार निर्वाचन अवधिभित्र मात्र दर्ता प्रक्रिया सम्पन्न गर्न पाइनेछ।
राजनीतिक दल दर्ताका लागि विधान, घोषणापत्र, झण्डा, चुनाव चिन्हको नमुना, कम्तीमा पाँच सय मतदाताको सदस्यता प्रतिबद्धता पत्र तथा २१ सदस्यीय केन्द्रीय समिति गठन आवश्यक हुन्छ।
हालैको जेन–जी आन्दोलनपछि संसद् विघटन भई आगामी फागुन २१ गते नयाँ निर्वाचनको मिति तोकिएको छ। आन्दोलनबाट जन्मिएका नयाँ राजनीतिक समूहले दल दर्ता गरी चुनावमा भाग लिने सम्भावना रहेको देखिन्छ।
यसअघि २७ भदौदेखि मतदाता नामावली संकलन रोकिन पुगेको थियो। तर अध्यादेशमार्फत कानुनी अड्चन हटाइएपछि अब नयाँ मतदाता दर्ता प्रक्रिया कात्तिक मसान्तसम्म चल्ने आयोगले जनाएको छ।