Bhairahawa Online Logo
Politics

अध्यादेश जारी : आगामी निर्वाचनमा जेन–जी पुस्तालाई मतदान गर्ने अवसर

Share:
Bhairahawa Online
अध्यादेश जारी : आगामी निर्वाचनमा जेन–जी पुस्तालाई मतदान गर्ने अवसर

काठमाडौं । सरकारले अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन गरी आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नेपाली नागरिकलाई मतदान गर्ने अवसर प्रदान गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको उक्त अध्यादेशअनुसार सो मितिसम्म उमेर पुगेका युवाले मतदाता नामावलीमा नाम लेखाएर आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन सक्नेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावली संकलनका लागि समयसीमा चाँडै तोकिनेछ। आयोगले करिब डेढ महिनाभित्र नाम दर्ता गर्ने समय दिने तयारी गरेको छ। उनले भने, “निर्वाचन अवधि सुरु हुनु अघि नै नामावली संकलन पूरा गरेर अघि बढ्छौं।”

गत असारमा मतदाता नामावली अद्यावधिक स्थगित भएपछि धेरै युवाहरूको नाम दर्ता हुन बाँकी थियो। विशेषगरी जेन–जी आन्दोलनपछि युवाहरूमा राजनीतिक चासो र मतदान गर्ने आकांक्षा बढेपछि सरकारले यो अवसर उपलब्ध गराएको हो।

नेपालको हालको जनसंख्या करिब २ करोड ९१ लाख ६४ हजार रहेकोमा मतदाता संख्या करिब १ करोड ८१ लाख रहेको निर्वाचन आयोगले जनाएको छ। नयाँ व्यवस्थाले ठूलो संख्यामा पहिलो पटक भोट हाल्ने युवालाई निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ।

निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरूसँग परामर्श गर्दै चुनावी तयारी अघि बढाइरहेको छ। प्रमुख दलहरूले गतिविधि सुरु गरेका छन् भने जेन–जी पुस्ता पनि नयाँ राजनीतिक विकल्पका तयारीमा रहेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News