Bhairahawa Online Logo
Politics

आन्दोलनपछि ओझेलमा परेका ढुंगाना फेरि सार्वजनिक, प्रधानमन्त्रीसँग भेट

Share:
Bhairahawa Online
आन्दोलनपछि ओझेलमा परेका ढुंगाना फेरि सार्वजनिक, प्रधानमन्त्रीसँग भेट

काठमाडौं । जेन जी आन्दोलनका अभियन्ता मिराज ढुंगाना प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासमा भएको उक्त भेट अनौपचारिक रहेको स्रोतले जनाएको छ।

ढुंगाना जेन जी आन्दोलनको प्रारम्भिक चरणदेखि चर्चामा रहे पनि आन्दोलनको निर्णायक दिन सडकमा देखिन नसकेपछि उनी विवादमा तानिएका थिए। उनले दुर्गा प्रसाईंलाई आन्दोलनमा सहभागी नहुन सम्झाउन मात्र भेटेको स्पष्टीकरण दिएका थिए।

उनले आफूलाई केही युवाबाट विरोध र धम्कीको आशंका भएकाले आन्दोलनमा खुलेर नउत्रिएको बताएका थिए। त्यही कारण २३ र २४ भदौमा उनी सडकमा उपस्थित नभएको उनले अन्तरवार्तामा उल्लेख गरेका थिए।

यसबीचमा सुधन गुरुङ जेन जी आन्दोलनको नेतृत्व गर्दै अग्रभूमिमा देखिएका थिए। उनको भूमिका निकै सक्रिय देखिएपछि ढुंगाना भने ओझेलमा परेका थिए।

हाल फेरि सार्वजनिक रूपमा सक्रिय देखिएका ढुंगानाले प्रधानमन्त्री कार्कीसँगको भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। भेटमा समसामयिक विषयमा अनौपचारिक छलफल भएको जनाइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News