Bhairahawa Online Logo
Politics

ओलीको आरोप : “सिंहदरबार जलाउनेहरू पहिल्यैदेखि योजनाबद्ध थिए”

Share:
Bhairahawa Online
ओलीको आरोप : “सिंहदरबार जलाउनेहरू पहिल्यैदेखि योजनाबद्ध थिए”

भक्तपुर — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारमा भएको आगजनी देशप्रति समर्पित नागरिकले होइन, योजनाबद्ध ढंगले आएको घुसपैठीय समूहले गरेको बताएका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा मंगलबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले, “देशलाई माया गर्नेहरूले कहिल्यै पनि सिंहदरबार जलाउँदैनन्। पहिलेदेखि नै ‘सिंहदरबार जलाउँछु’ भन्ने चेतावनी दिनेहरूले नै यो कृत्य गरेका हुन्,” भने।

ओलीका अनुसार, हालैका घटनाहरू सामान्य असन्तोष नभई सरकारी संरचना लक्षित आगजनी र तोडफोडका उदाहरण हुन्। उनले यस्ता गतिविधि रोक्न संयमता, धैर्य र संगठनात्मक शक्ति आवश्यक भएको औंल्याए।

“बादल लाग्यो भनेर सूर्य उदाउँदैन भन्ने होइन। अन्धकारपछि उज्यालो आउँछ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ,” ओलीले कार्यकर्तालाई हौसला दिँदै भने।

अध्यक्ष ओलीले जेन-जी आन्दोलनका घटनापछि नेपाल अन्तर्राष्ट्रिय स्तरमा बदनाम भएको उल्लेख गरे। “भिसा नदिने, रोजगारी नदिने अवस्था सिर्जना भएको छ। तर नेपाल इमान्दार, कर्मठ र सभ्य मानिसहरूको देश हो भन्ने पहिचान स्थापित गर्न हामी सबै जुट्नुपर्छ,” उनले भने।

उनका अनुसार, देशले भोगेको क्षति पुनः दोहोरिन नदिन सबै जिम्मेवार शक्तिहरू एकजुट हुन जरुरी छ। उनले कार्यकर्तालाई हिम्मत नहार्न र सकारात्मक मार्गबाट अघि बढ्न आह्वान गरे।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News