Social
सुनकोसी नदीमा पौडी खेल्न गएको क्रममा एक युवाको मृत्यु
Bhairahawa Online

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–४ स्थित खाङसाङबेसीमा बग्ने सुनकोसी नदीमा पौडी खेल्ने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ। घटनामा परी मृत्यु हुनेको नाम १७ वर्षीय शिखर ढकालको रहेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्य प्रकाश सुवेदीको भनाई अनुसार शुक्रबार दिउँसो नदीमा पौडी खेल्न गएका ढकाल अचानक नदीको गहिरो भागमा डुबेर बेपत्ता भएका थिए। उनको बेपत्ता पछि सुरु भएको खोजीका क्रममा साँझतिर गोताखोर टोलीले नदीको दहमा उनको शव पेला पारेको हो।
प्रहरीले नदी तथा अन्य जलस्रोतहरूमा पौडी खेल्न जाँदा सावधानी अपनाउन आवश्यक रहेको स्मरण गराउँदै यस्ता दुखद घटनाहरूबाट जोगिन सतर्कता अपनाउनुपर्ने अपील गरेको छ। घटनापछि परिवार र स्थानीय बासिन्दामाझ गहिरो शोक छाएको छ।