देउवा र खड्काको घरमा ‘जलेका नोट’ जाँच, दाहाल निवासतर्फ पनि तयारी

काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री दीपक खड्काको निवासमा भेटिएका जलेका नोटबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ।
आइतबार विभागको टोली बूढानीलकण्ठस्थित दुवै घर पुगेको थियो। टोलीले त्यहाँबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी मुचुल्का तयार गरेको छ।
२४ भदौमा ‘जेन–जी’ आन्दोलनको क्रममा प्रदर्शनकारीले दुबै नेताको घरमा आगजनी गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा नेपाली र विदेशी नोट जलेको भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। ती सामग्रीको फरेन्सिक परीक्षण भने अझै भएको छैन।
विभागका एक अधिकारीका अनुसार, प्रारम्भिक स्क्रिनिङपछि घटनास्थलमा प्रत्यक्ष अवलोकन गरिएको हो। “कसैले जलेका नोट छाडेका वा लगेको भन्दै आएका तस्बिर र भिडियो हामीले गम्भीर रूपमा नियालेका छौं,” उनले बताए।
विभागले संकलित खरानी वा टुक्रा साँच्चै चल्तीका नोट भएको पुष्टि भए सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाइने जनाइएको छ। राजस्व अनुसन्धान विभागले पनि यस घटनालाई ‘नोटिस’ मा लिएर अनुगमन गरिरहेको जनाएको छ।
यस्तै, विभागले अब पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पनि जाने तयारी गरेको छ। आगलागीपछि प्रहरी निगरानीमा रहेको दाहालको घरमा हालसम्म उनले बसोबास गरेका छैनन्।
देउवा पक्षले भने घरमा ठूलो मात्रामा पैसा भेटिएको वा भूमिगत सुरुङमार्फत सुरक्षित गरिएको दाबी असत्य र भ्रामक भएको जनाएको छ। उनका सहयोगी भानु देउवाले जारी गरेको विज्ञप्तिमा “सामाजिक सञ्जालमा फैलाइएका भिडियो र तस्बिरहरू कपोकल्पित र बदनाम गर्ने नियतले बनाइएका” भनिएको छ।