कांग्रेसमा नेतृत्व परिवर्तनबारे चर्को बहस

काठमाडौं — जेन–जी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नेतृत्व फेरबदलको माग तीव्र बन्दै गएको छ। सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाजसहित केही नेताहरूले विशेष महाधिवेशनको आवश्यकता औंल्याएका छन्।
कांग्रेस मात्र नभई एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र रास्वपाभित्र समेत शीर्ष नेतृत्वमा परिवर्तनबारे छलफल सुरु भएको छ।
कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वको रूपान्तरण अब टार्न नसकिने बताएका छन्। उनीहरूले पार्टी पुनर्गठनको लागि विशेष महाधिवेशनसम्मको तयारी गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
गगन थापाले संविधान दिवसकै दिन पार्टीमा नयाँ अभियान सुरु गर्नुपर्ने भन्दै सदस्यता, संगठनात्मक संरचना, नेतृत्व छनोटदेखि एजेन्डासम्म आमूल सुधार जरुरी रहेको बताए। उनले कांग्रेसले जनतासँग माफी माग्दै सशक्त रुपमा अघि बढ्नुपर्नेमा जोड दिए।
शर्माले भने, देउवाले फेरि प्रधानमन्त्री बन्ने सोच त्यागेर पार्टीभित्र नयाँ व्यक्तिलाई अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्। सहमहामन्त्री जीवन परियारसहितका केही नेताहरूले पनि विशेष महाधिवेशनकै माग गरेका छन्।
देउवापछि नेतृत्व कसले लिने भन्ने विषय कांग्रेसभित्र अर्को ठूलो बहसको रूपमा उठेको छ। संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र शशांक कोइराला दाबेदार मानिएका छन् भने इतर पक्षबाट शेखर कोइराला र गगन थापा चर्चामा छन्।
कांग्रेसका अन्य नेताहरूले पनि पार्टीलाई जनताको मागअनुसार सुधार र रूपान्तरणतर्फ लैजान नेतृत्व हेरफेर अपरिहार्य भएको टिप्पणी गरेका छन्। केन्द्रीय सदस्य रामहरि खतिवडा र नैनसिंह महराले जनताले नयाँ पुस्तालाई नेतृत्व दिन चाहेको बताएका छन्।
तर, सभापतिनिकट नेताहरूले भने देउवाको स्वास्थ्य अवस्था सामान्य भएपछि मात्र नेतृत्व सम्बन्धी छलफल हुनुपर्ने मत व्यक्त गरेका छन्। उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतले अहिले नेतृत्व परिवर्तनको कुरा गर्नु उचित नभएको स्पष्ट पारेका छन्।
यद्यपि, पार्टीभित्र युवापुस्ताको दबाब र जनभावनालाई आत्मसात गर्दै विशेष महाधिवेशन वा नियमित अधिवेशनमार्फत नयाँ नेतृत्वको मार्ग खोल्नेबारे बहस अझै चर्किंदै गएको छ।