Bhairahawa Online Logo
News

प्रधानमन्त्री ओली : घुसपैठकै कारण प्रदर्शनमा ज्यान जाने दुःखद् अवस्था सिर्जना

Share:
Bhairahawa Online
प्रधानमन्त्री ओली : घुसपैठकै कारण प्रदर्शनमा ज्यान जाने दुःखद् अवस्था सिर्जना

भैरहवा — प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वार्थ समूहबाट भएको घुसपैठकै कारण जेन–जि पुस्ताले आह्वान गरेको प्रदर्शनमा नागरिकको ज्यान जाने अवस्था उत्पन्न भएको बताएका छन्। सोमबार राति जारी वक्तव्यमा प्रधानमन्त्री ओलीले आन्दोलनप्रति सरकार नकारात्मक नरहेको स्पष्ट पार्दै दुःखद् घटनाले आफू मर्माहत भएको बताए।

उनले भने, “जेन–जि पुस्ताले शान्तिपूर्ण माग राख्ने विश्वास सरकारलाई थियो। तर प्रदर्शनमा घुसपैठ गरेर संवैधानिक संस्थामाथि तोडफोड र आगजनी गरियो। ती संरचना जोगाउने प्रयासमा अप्रिय घटना भई ज्यान जाने अवस्था आयो।”

ओलीले सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने प्रयोजनका लागि लामो समयदेखि कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण गर्न आग्रह गर्दै आएको बताए। कतिपयले दर्ता गरे पनि केहीले आदेश बेवास्ता गरेको अवस्थामा सर्वोच्च अदालतले दिएको निर्देशनअनुसार मात्रै सामाजिक सञ्जाल निष्क्रिय गरिएको उनको भनाइ छ।

उनका अनुसार, “सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै नीति बनाएको छैन। सूचीकरण भएपछि सबै प्लेटफर्म सञ्चालन हुनेछन्। तर जानकारीको अभाव र बुझाइमा स्पष्टता नआएकै कारण आजको स्थिति उत्पन्न भयो।”

प्रधानमन्त्री ओलीले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई राहतको व्यवस्था गरिने जानकारी दिए। साथै, सम्पूर्ण घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गर्ने घोषणा गरेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News