नक्खु जेलबाट रवि लामिछानेको सन्देश : “सांसदहरूले राजीनामा दिन तयार रहनुहोस्”

भैरहवा । सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई संसदबाट राजीनामा दिन तयारी अवस्थामा रहन आग्रह गरेका छन्। उनले जेलभित्रैबाट जारी गरेको चार बुँदे विज्ञप्तिमा यस्तो भनाइ सार्वजनिक गरेका हुन्।
लामिछानेले हालैको जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि अन्तरिम नागरिक सरकार गठनको माग अघि सारेका छन्। उनले २०४६ सालपछि भएका नीतिगत निर्णयहरूको पुनः मूल्याङ्कन गर्नुपर्ने, उच्चपदस्थ र तिनका परिवारको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने, संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञ समिति बनाउने, र हालको घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन्।
उनका अनुसार सरकारमा बसेकाहरू शासनको भूमिकामा नभई दण्डको जिम्मेवार बनेका छन्। “देश आन्दोलन होइन, क्रान्तितर्फ अघि बढ्दैछ। तर अझै संयमता र शान्तिपूर्ण मार्गबाट यसलाई अघि बढाउन सकिन्छ,” लामिछानेले भनेका छन्। उनले यो परिवर्तन केवल जिम्मेवारलाई दण्ड दिनका लागि नभई मुलुकको संरचना नै फेरबदल गर्ने तहमा पुग्नुपर्ने पनि स्पष्ट पारेका छन्।