जेनजी आन्दोलन घटनामा छानबिन समिति गठन, गृहमन्त्रीको राजीनामा

भैरहवा । जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले समिति बनाउने निर्णय गरेको र १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको स्रोतले जानकारी दिएको छ। समितिको संयोजक र सदस्यहरूको नाम भने अर्को बैठकमा तोकिने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार घटनामा हालसम्म १९ जनाले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी घाइते भएका छन्। काठमाडौँका विभिन्न अस्पतालहरूमा घाइतेहरूको उपचार भइरहेको छ। सिभिल, वीर, ट्रमा सेन्टर, एभरेष्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, नर्भिक, त्रिवि शिक्षण अस्पतालसहित उपत्यका भित्रका अस्पतालमा ठूलो संख्यामा घाइतेहरू उपचाररत छन्। उपत्यकाबाहिर गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, दमक अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत घाइतेहरूको उपचार भइरहेको र केहीले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
यसैबीच गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीस्वरूप पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा पत्र बुझाएको जनाइएको छ। पार्टी बैठकमा समेत उनले घटनापछि पदमा बसिरहनु उचित नभएको भन्दै राजीनामा दिनुपर्ने निष्कर्ष सुनाएका थिए।