Social
बाढी र पहिरोबाट मृतकको संख्या ४८ पुग्यो, छ जना अझै बेपत्ता
Bhairahawa Online

काठमाडौं — मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मृतकको संख्या ४८ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ गरेको अद्यावधिक अनुसार छ जना अझै बेपत्ता रहेका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतको अनुसार पहिरोमा परी इलाममा ३७ जना र पाँचथर र काभ्रेमा एक/एक जना गरी ३९ जनाको मृत्यु भएको हो। बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक/एक जना गरी छ जना, चट्याङबाट दुई जना र अविरल वर्षाले उदयपुरमा एक जनाको मृत्यु भएको हो।
बेपत्ता हुनेमा बाढीमा परेर रसुवामा चार जना र इलाममा एक जना, साथै पहिरोमा परेर इलाममा एक जना रहेका छन्। यी विपद्जन्य घटनामा हालसम्म २८ जना घाइते भएका छन् भने १८ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।