तीन जिल्लाको संयुक्त सूचना : मुग्लिन-नारायणगढ र कोत्रे-मुग्लिन-नागढुङ्गा सडक हुँदै यात्रा नगर्नू

काठमाडौं — तनहुँ, चितवन र धादिङ जिल्लाको प्रशासनले पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुङ्गा र मुग्लिन-नारायणगढ सडक हुँदै यात्रा गर्दा सचेत रहन संयुक्त सूचना जारी गरेका छन्।
जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै आगामी असोज २० गतेसम्म उक्त मार्गहरू हुँदै यात्रा नगर्न सिफारिस गरिएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अनुसार अत्यावश्यक यात्रा भएमा दिनको समयमा मात्र यात्रा गर्न र सुरक्षा निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
सूचनामा रातिको समयमा यात्रा नगर्न, ठूला मालवाहक सवारी साधन नचलाउन तथा वर्षाको अवस्थामा सडक बन्द हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सतर्क रहन अपिल गरिएको छ। प्रशासनले आवश्यक परेमा राजमार्गमा आवागमन बन्द गर्न पनि सक्ने जनाएको छ।