नुवाकोटमा बाढीले चार युवा पर्यटक बेपत्ता

नुवाकोट — लाङटाङ घुम्न गएका चार युवा पर्यटकहरू नुवाकोटको वेरिङखोलामा आएको बाढीले बगेपछि बेपत्ता भएका छन्। भक्तपुरबाट १६ जनाको समूहमा लाङटाङ जाँदै गरेका यी युवाहरू शनिबार बेलुका बाढीको शिकार बनेका हुन्।
बेपत्ता पर्यटकहरूमा मध्यपुरठिमी नगरपालिकाकी संकृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ रहेका छन्। उनीहरूको खोजीका लागि नेपाली सेना र प्रहरीको टोली परिचालन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको अनुसार पर्यटकहरूको समूह दुई भागमा विभाजित थियो। पछिल्लो समूहका यी चार जना वेरिङखोला पार गर्ने क्रममा बाढीले बगाएका हुन्। बाँकी पर्यटकहरूलाई स्थानीय होटेलमै राखिएको छ।
यसैबीच, लाङटाङखोलाको जलस्तर सतर्कता तह भन्दा माथि पुगेकोले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई आइतबारसम्म अति उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।