एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु, ओलीले गर्ने उद्घाटन

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट प्रारम्भ भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनमा पार्टीको विचार, संगठन र विधानसम्बन्धी विषयमा गहन छलफल गरिनेछ।
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली हाम्रो गन्तव्य” भन्ने नारासहित सुरु भएको कार्यक्रममा करिब २,३४१ प्रतिनिधि सहभागी छन्। उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्।
महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ। साथै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि पेश गरिनेछन्।
कार्यक्रमलाई व्यवस्थित बनाउन डिजिटल प्रविधिको प्रयोग गरिएको छ। सहभागीहरूको परिचय स्क्यान गरी प्रवेश दिने व्यवस्था गरिएको छ भने सातदोबाटोदेखि गोदावरीसम्म १८ वटा स्वागतद्वार निर्माण गरिएको छ। महाधिवेशन स्थलभित्र नेकपाका संस्थापक नेतादेखि कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनसम्मका पूर्णकदका तस्बिरहरू सजाइएका छन्।
शनिबार विभिन्न समूहमा छलफलपछि पर्सी प्रस्तुत नतिजासहित अध्यक्ष ओलीले समापन सम्बोधन गर्नेछन्। ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन, समाजवादको आधार निर्माण र समृद्ध नेपाल, सुखी नेपाली को लक्ष्यलाई हासिल गर्ने कार्यदिशा समेटिने जनाइएको छ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर सीमा हटाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने, त्यसको एकतिहाइ पोलिटब्यूरो गठन गर्ने र स्थायी कमिटीमा १५ पदाधिकारी रहने व्यवस्था राखिएको छ। पदाधिकारीमध्ये कम्तीमा एक महिला अनिवार्य रहने प्रस्ताव गरिएको छ।
संगठनात्मक प्रतिवेदनले पार्टीभित्र देखिएका चुनौती र समाधानका उपाय प्रस्तुत गर्नेछ। एमालेको विधानअनुसार दुई राष्ट्रिय महाधिवेशनबीच विधान महाधिवेशन गर्न सकिने प्रावधान रहिआएको छ।
यस महाधिवेशनका लागि आवास, स्वास्थ्य, प्रचार, स्वयंसेवक, सांस्कृतिक कार्यक्रमदेखि खाद्य व्यवस्थासम्म छुट्टाछुट्टै समितिहरू गठन गरिएको छ।