झुम्का कारागारबाट भागेका ९५८ कैदी नियन्त्रणमा

सुनसरी । जेन–जी आन्दोलनको क्रममा सुनसरीस्थित झुम्का कारागारबाट भागेका कैदीमध्ये ९५८ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। आन्दोलनको अराजक वातावरणलाई उपयोग गर्दै करिब १,७९६ जना कैदी फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, फरारमध्ये २५५ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो भने ८३८ जना आफैं सम्पर्कमा आएका छन्। बाँकी कैदी अझै फरार रहेका कारण प्रहरीको विशेष टोली खोजतलासमा परिचालन गरिएको छ।
डीएसपी खतिवडाले बताएअनुसार, फरार भएका धेरै कैदी गम्भीर आपराधिक घटनामा संलग्न भई सजाय भोगिरहेका थिए। पक्राउ परेकाहरूलाई फेरि कारागारमा पठाउने कार्य भइरहेको छ।
झुम्का कारागारमा तोडफोड र आगजनीपछि भएको यो सामूहिक पलायनलाई हालसम्मकै ठूलो घटना मानिएको छ। यस घटनापछि देशभरका कारागारको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठेका छन्। विज्ञहरूले सुरक्षा प्रणाली, संरचना र व्यवस्थापन सुधार अपरिहार्य भएको टिप्पणी गरेका छन्।