एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव

काठमाडौं — नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिएको संशोधन प्रस्तावमा पार्टी संरचनासम्बन्धी महत्वपूर्ण प्रावधानमा परिवर्तनको सुझाव राखिएको छ।
उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्ताव अनुसार केन्द्रीय कमिटीको सदस्य संख्या हालको ३०१ बाट घटाएर २५१ कायम गर्ने प्रस्ताव गरिएको छ। साथै, १५ जना पदाधिकारीको प्रावधान अघि सारिएको छ, जसमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ रहने व्यवस्था प्रस्ताव गरिएको छ। पदाधिकारीमध्ये कम्तीमा एक महिला अनिवार्य हुने उल्लेख छ।
संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाउने र उपाध्यक्षको संख्या ६ बाट घटाएर ३ मा सीमित गर्ने सुझाव राखिएको छ। त्यस्तै, २ कार्यकालसम्म मात्र अध्यक्ष हुने व्यवस्थालाई पनि हटाउने प्रस्ताव गरिएको छ।
स्थायी कमिटी र पोलिटब्युरोमा समेत कटौतीको सुझाव राखिएको छ। ४५ सदस्यीय स्थायी कमिटीलाई पदाधिकारी १५ जनामा सीमित गर्ने प्रस्ताव गरिएको छ भने ९९ सदस्यीय पोलिटब्युरोलाई अधिकतम एकतिहाइ सदस्य रहने गरी निर्वाचनमार्फत गठन गर्ने व्यवस्था उल्लेख छ।
यसबाहेक, सबै तहका कमिटीमा उम्मेदवार बन्न ७० वर्षे उमेर सीमा कायम गर्ने प्रावधानलाई पनि खारेज गर्ने प्रस्ताव गरिएको छ। यसअघि २०८० वैशाखमा केन्द्रीय कमिटी बैठकले सो व्यवस्था निष्क्रिय बनाएको भए पनि अब विधानमै त्यसलाई हटाउने तयारी छ।
धारा ७० अन्तर्गत पार्टी बैठक बस्ने समयतालिकामा पनि हेरफेर गरिएको छ। प्रस्तावअनुसार केन्द्रीय कमिटी बैठक ६ महिनामा, प्रदेश कमिटी ४ महिनामा, जिल्ला कमिटी ३ महिनामा, पालिका कमिटी २ महिनामा र वडा कमिटी एक महिनामा बस्ने व्यवस्था गरिनेछ।