अख्तियारको चेतावनी : “लुटिएका सामग्री तुरुन्त फिर्ता नगरे कारबाही”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोडफोड र लुटपाटमा हराएका उपकरण तथा सामग्री फिर्ता गर्न आग्रह गरेको छ। आयोगको टंगालस्थित केन्द्रीय कार्यालयले सार्वजनिक सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायतका शाखा कार्यालयहरूबाट चोरी भएका सामान तत्कालै बुझाउनुपर्ने जनाएको छ।
आयोगका अनुसार अघिल्लो आन्दोलनपछि तोडफोड, आगजनी र लुटपाटका घटनामा सवारीसाधन (दुई पांग्रे र चार पांग्रे), कम्प्युटर, ल्यापटप, टेलिभिजन, स्क्यानर, हार्ड डिस्क, मोबाइल, ट्याबलेट, माइक्रोओभन, क्यामेरा, पंखा र हिटरजस्ता उपकरण हराएका छन्।
फेला परेको सामग्री काठमाडौं भित्र भए प्रहरी वृत्त मालिगाउँमा, अन्य स्थानमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाउन अपिल गरिएको छ।
आयोगले चोरीमा संलग्नहरूको पहिचान सिसिटिभी फुटेजमार्फत भइरहेको र संलग्नलाई कानूनी कारबाहीमा ल्याइने चेतावनीसमेत दिएको छ।
हालैका आन्दोलनका क्रममा आयोगका विभिन्न कार्यालयमा भएको तोडफोड र आगजनीले ठूलो क्षति पुर्याएको भए पनि टंगालस्थित मुख्य कार्यालय भने ठूलो क्षति हुनबाट जोगिएको आयोगले जनाएको छ।