प्रतिनिधिसभा विघटन असंवैधानिक : नेपाल बार एसोसिएसन

काठमाडौं – नेपाल बार एसोसिएसनले हाल भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै कडा आपत्ति जनाएको छ।
बारका अध्यक्ष डा. विजय प्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम संविधानको मर्म विपरीत रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभा विघटन गर्ने निर्णयले लोकतन्त्रलाई कमजोर बनाएको छ र संघीय प्रणालीलाई चुनौती दिएको छ।” बारका अनुसार यो कदम सर्वोच्च अदालतले अघिल्लो पटक संसद् पुनर्स्थापना गर्दा दिएको व्याख्याविपरीत छ।
कानून व्यवसायीहरूको छाता संगठनले यसलाई स्वेच्छाचारी र अलोकतान्त्रिक कदम भन्दै लोकतान्त्रिक संस्थाप्रतिको जनविश्वास घटाउने खतरा भएको चेतावनी दिएको छ। साथै, संविधान र लोकतन्त्रविरुद्ध हुने कुनै पनि कदमलाई अस्वीकार गर्ने घोषणा गर्दै बारले त्यसविरुद्ध सबै पक्षलाई एकजुट हुन आह्वान गरेको छ।