सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

भैरहवा – देशको पछिल्लो राजनीतिक अन्योलबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय छलफलमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निष्कर्ष निकालिएको सहभागी स्रोतले जनाएको छ। आवश्यकताको सिद्धान्तअनुसार उनलाई नेतृत्व दिने तयारी भएको र भोलि बिहानसम्मै शपथ गराउने प्रक्रिया अघि बढाइने बताइएको छ।
बैठकमा राष्ट्रपति पौडेलसँगै प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक विज्ञ र प्रमुख राजनीतिक दलका नेताहरू सहभागी थिए। सोही छलफलमा कार्कीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति बनेको हो।
यसअघि जेनजी आन्दोलनतर्फबाट पनि अन्तरिम सरकारको नेतृत्वका लागि कार्कीलाई नै अगाडि ल्याउने कुरा निरन्तर उठ्दै आएको थियो।
--