यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

भैरहवा । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ भने स्थानीय वायुले आंशिक असर पुर्याइरहेको छ।
महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशसहितका पहाडी भागका थोरै क्षेत्रमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ भने बाँकी भूभागमा आंशिक बदली मात्र हुने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाले पहाडी क्षेत्रमा हुनसक्ने भारी वर्षाका कारण जनधनको क्षति हुन नदिन सावधानी अपनाउन सर्वसाधारणलाई सचेत गराएको छ।