तीन मन्त्री तोकिए, सोमबार शपथ ग्रहण हुने तयारी

काठमाडौं – अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना नयाँ मन्त्री चयन गरेकी छन्।
कार्कीले अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वअर्थसचिव रामेश्वर खनाललाई दिने भएकी छन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मा दिने तयारी गरिएको छ। त्यस्तै, अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानून, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिन सिफारिस भएको छ।
प्रधानमन्त्री कार्कीले ती तीन नाम राष्ट्रपति समक्ष पठाइसकेकी छन् र सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
खनाल र घिसिङ दुवै अघिल्लो भूमिकामा सुशासन र कार्यक्षमताका लागि परिचित मानिन्छन्। आन्दोलनकारी युवाहरूको मागअनुसार उनीहरूलाई मन्त्रिपरिषद्मा ल्याइएको हो। अधिवक्ता अर्यालले हालैको राजनीतिक संकटमा वार्तामा सक्रिय भूमिका खेलेका थिए।
प्रधानमन्त्री कार्कीले अन्य मन्त्रीहरूको चयनसमेत आन्दोलनकारी समूहसँग परामर्श गरेर अघि बढाइरहेको बताइएको छ। अहिले सानो आकारको मन्त्रिपरिषद् गठन गरेर तत्कालीन आवश्यक काम अगाडि बढाइने र थप नाम पछि टुंगो लगाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यसअघि कार्कीले पदभार सम्हाल्ने क्रममा आन्दोलनमा ज्यान गुमाएका नागरिकलाई सहिद घोषणा गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेकी थिइन्। साथै, प्रतिनिधिसभा विघटनको सिफारिससहित आगामी फागुन २१ गते चुनाव गर्ने प्रस्ताव पनि राष्ट्रपतिसमक्ष पठाइसकेकी छिन्।